खाजा घरको पार्किङमै युवतीले लगाइन् आगो, कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै


खाजा घरको पार्किङमै युवतीले लगाइन् आगो, कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै
  • नवकिरण
  • श्रावण ५, २०८३

काठमाडौं, साउन ५ – काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेकी छन्। घटनामा उनी गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार घाइते हुनेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारीमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङ रहेकी छन्। प्रारम्भिक अनुसन्धानबाट श्रीमानसँग भएको पारिवारिक विवादपछि उनले खाजा घरको पछाडिपट्टिको पार्किङ क्षेत्रमा पेट्रोल छर्केर आगो लगाएको खुलेको छ।

आगो लागेको थाहा पाएपछि उनका श्रीमानले तत्काल आगो निभाएका थिए। दम्पतीले संयुक्त रूपमा खाजा घर सञ्चालन गर्दै आएको पनि प्रहरीले जनाएको छ।

घटनापछि उनलाई तत्काल शुस्मा कोइराला मेमोरियल अस्पताल पुर्‍याइएको थियो। त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ।

प्रहरीका अनुसार उनको अनुहार, छाती र दुवै हातमा गरी करिब ५० प्रतिशतसम्म जलन भएको छ। घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।