गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले बनायो न्यायिक छानबिन समिति


गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले बनायो न्यायिक छानबिन समिति
  • नवकिरण
  • श्रावण ६, २०८३

काठमाडौं, साउन ६ – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणबारे सत्यतथ्य उजागर गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको निष्पक्ष अनुसन्धानका लागि उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले समितिलाई घटनाका सबै पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको जानकारी दिए।

गणेश नेपालीले केही दिनअघि राहदानी विभाग परिसरबाहिर आत्मदाह प्रयास गरेका थिए। गम्भीर रूपमा घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो।

घटनापछि विभिन्न राजनीतिक दल, नागरिक समाज तथा मानवअधिकारकर्मीहरूले निष्पक्ष छानबिन र जिम्मेवार पक्षमाथि कारबाहीको माग गर्दै आएका थिए। सोही मागलाई मध्यनजर गर्दै सरकारले न्यायिक समिति गठन गरेको जनाएको छ।

समितिले घटनाको कारण, त्यसअघि भएका घटनाक्रम, सम्बन्धित निकायको भूमिका तथा समग्र अवस्थाको अध्ययन गरी सरकारलाई प्रतिवेदन पेश गर्ने अपेक्षा गरिएको छ।