सिरहा, साउन ८ – गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो खिचेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।
सिरहा–१ बाट प्रतिनिधिसभामा निर्वाचित गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर स्वयं उपस्थित भई जरिबाना बुझाएको प्रहरीले जनाएको छ।
हालै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा सांसद गुप्ता चलिरहेको बुलेट मोटरसाइकलको पछाडिको भागमा उभिएर मोबाइलबाट भिडियो खिचिरहेको देखिएका थिए। उक्त दृश्य सार्वजनिक भएपछि सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले नै ट्राफिक नियमको बेवास्ता गरेको भन्दै व्यापक आलोचना भएको थियो।
सोही घटनालाई आधार बनाएर ट्राफिक प्रहरीले उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो। जरिबानापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केहीले कानुन सबैका लागि समान रूपमा लागू भएको भन्दै स्वागत गरेका छन् भने अन्यले यस्तो जोखिमपूर्ण गतिविधिमा अझ कडा कारबाही हुनुपर्ने धारणा राखेका छन्।
घटनापछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना गरेका छन्। बाल्यकाल बिताएको स्थानमा पुगेपछि पुराना सम्झनामा रमाउँदा आवेगमा यस्तो कार्य भएको उल्लेख गर्दै उनले ट्राफिक नियम उल्लंघन गरेको महसुस भएको बताएका छन्।
उनले भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो ऊर्जा जनताको सेवा र देशको हितमा लगाउने बताएका छन्।
यसअघि पनि ट्राफिक नियम उल्लंघनका घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक प्रहरीले जरिबाना गरेको थियो।
