काठमाडौं, साउन १० – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा बसोबास गरिरहेका नेपालीलाई मातृभूमिको आर्थिक उन्नतिमा साझेदार बन्न नेपालमै लगानी गर्न आह्वान गरेका छन्।
शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भर्चुअल माध्यमबाट भएको संवादमा उनले प्रवासी नेपालीहरू नेपालको पहिचान र प्रतिष्ठा फैलाउने महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै देशको विकास यात्रामा सक्रिय सहभागिता जनाउन आग्रह गरे।
उनले सरकार ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यताप्रति दृढ रहेको बताउँदै प्रवासमा रहेका नेपालीको लगानी सुरक्षित र सहज बनाउन आवश्यक नीतिगत सुधारहरू अघि बढाइएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत उद्योग, व्यापार र लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै कर तथा राजस्व प्रणालीलाई लगानीमैत्री बनाइएको बताए। यसले स्वदेशमा लगानी गर्ने वातावरण थप अनुकूल बनेको उनको भनाइ थियो।
उनले नेपालमा गरिएको लगानीबाट प्राप्त प्रतिफल कानुनी प्रक्रियाअनुसार सहज रूपमा विदेश लैजान सकिने स्पष्ट पार्दै एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्तीय साधनमार्फत प्रवासी नेपालीको पूँजी परिचालन गर्ने सरकारको योजना रहेको जानकारी दिए।
कार्यक्रममा उनले प्रवासमा रहेका नेपालीको अनुभव, सीप र पूँजीलाई नेपालको आर्थिक रूपान्तरणसँग जोड्न सरकार प्रतिबद्ध रहेको समेत बताएका छन्।
