लघुवित्त पीडितको आन्दोलन थप चर्कियो, माइतीघरमा सामूहिक आमरण अनसन सुरु


लघुवित्त पीडितको आन्दोलन थप चर्कियो, माइतीघरमा सामूहिक आमरण अनसन सुरु
  • नवकिरण
  • श्रावण १२, २०८३

काठमाडौं, साउन १२ – विभिन्न लघुवित्त संस्थाबाट पीडित भएको दाबी गर्ने सर्वसाधारणले आफ्ना माग पूरा गराउन दबाबस्वरूप काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनसन सुरु गरेका छन्।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपाल को आह्वानमा देशका विभिन्न जिल्लाबाट आएका पीडितहरू आन्दोलनमा सहभागी भएका हुन्। उनीहरूले लघुवित्त संस्थाहरूले अत्यधिक ब्याजदर लिने, ऋण असुलीका क्रममा मानसिक तनाव सिर्जना गर्ने तथा आर्थिक रूपमा थप संकटमा धकेल्ने काम गरेको आरोप लगाएका छन्।

आन्दोलनकारीहरूको भनाइमा सरकारसँग पटक–पटक वार्ता भए पनि आफ्ना मागप्रति कुनै प्रभावकारी निर्णय नभएकाले अन्तिम विकल्पका रूपमा आमरण अनसन रोज्नुपरेको हो।

रौतहटका शिलम यादवले सरकारले समस्या समाधानमा चासो नदेखाएकाले आन्दोलनलाई थप कडा बनाउँदै लैजाने बताए। उनका अनुसार माग पूरा नभएसम्म माइतीघर केन्द्रित आन्दोलन, धर्ना र प्रदर्शन निरन्तर जारी रहनेछ।

पीडितहरूले लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने मागसमेत गरेका छन्।