सुनसरी, साउन १३ – सुनसरीका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेशको प्रभाव जिल्ला अदालतमा पनि परेको छ। स्थानीय प्रशासनले सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै कर्फ्यु लागू गरेपछि जिल्ला अदालत सुनसरीले बुधबारका सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा स्थगित गरेको हो।
अदालतले सार्वजनिक गरेको सूचनामा सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी तथा न्यायिक प्रक्रियामा संलग्न सबै पक्षको सुरक्षालाई प्राथमिकतामा राखेर एक दिनका लागि अदालतका सबै कामकारबाही रोकिएको उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार रातिदेखि इनरुवा नगरपालिकासहित १० स्थानीय तहमा अर्को आदेश जारी नभएसम्म कर्फ्यु लागू गरेको थियो। सोही निर्णयका कारण अदालतले पनि नियमित सेवा सञ्चालन गर्न नसकिएको जनाएको छ।
अदालतका अनुसार बुधबारलाई ‘शून्य समय’का रूपमा गणना गरिने भएकाले आजका लागि तोकिएका म्याद, तारेख तथा उपस्थितिसम्बन्धी कानुनी समयसीमा प्रभावित हुने छैन। कर्फ्यु हटेपछि अदालतको नियमित सेवा पूर्ववत् सञ्चालन गरिने जनाइएको छ।
