सुनसरी, साउन १५ – देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारबीच ७ बुँदे सहमति भए पनि सुनसरी जिल्लामा जारी कर्फ्यु तत्काल हटाइएको छैन। प्रशासनले शुक्रबार बेलुकासम्म कर्फ्यु यथावत रहने जनाएको छ।
कर्फ्युका कारण इटहरी, धरान र बराहक्षेत्र नगरपालिका बाहेक जिल्लाका अधिकांश स्थानीय तह तथा व्यापारिक केन्द्रहरू शुक्रबार पनि ठप्प रहे। आन्दोलन अन्त्य भइसकेको अवस्थामा समेत कर्फ्यु निरन्तर जारी रहँदा सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ।
स्थानीयवासीहरूले अवस्था सामान्य बन्दै गएको भन्दै कर्फ्यु हटाउन प्रशासनसँग आग्रह गरेका छन्। इनरुवाका स्थानीय दिलिप साहले पीडित परिवारसँग सहमति भइसकेपछि पनि कर्फ्यु कायम राखिनु आवश्यक नरहेको बताउँदै सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको गुनासो गरे।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार जिल्लाको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्न शुक्रबार साँझ जिल्ला सुरक्षा समितिको बैठक बस्नेछ। सोही बैठकले कर्फ्यु हटाउने वा थप अवधि कायम राख्नेबारे निर्णय गर्ने उनले जानकारी दिए।
बिहीबार राति गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा भएको वार्तापछि सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति भएको थियो। सहमतिअनुसार दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने तथा देवानगञ्ज–३ स्थित मदरसाको कानुनी अवस्थाबारे अनुसन्धान गरिने उल्लेख छ।
यस्तै, प्रत्येक मृतकका परिवारका एक योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय तहसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।
सहमतिअनुसार ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अन्त्येष्टि साउन १५ गते दिउँसो २ बजे सम्पन्न गर्ने तय गरिएको छ।
