गोरखा, साउन २१ – गोरखामा लगातारको वर्षापछि खसेको पहिरोले पेट्रोल पम्प र एक निजी घरमा क्षति पुगेको छ। घटनामा कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ।
बिहीबार बिहान गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित पेट्रोल पम्पको पछाडिबाट पहिरो झर्दा पम्पको डिस्टेन्सर मेसिनमा क्षति पुगेको छ। त्यहाँ पार्किङ गरेर राखिएका पाँच वटा मोटरसाइकल पनि पहिरोले पुरिएका छन्। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा पहिरो हटाउने तथा पुरिएका सामग्री निकाल्ने प्रयास भइरहेको छ।
यसैबीच, बुधबार राति पालुङटार नगरपालिका–१ कोलकोटेमा लेदोसहित आएको पहिरोले स्थानीय बाबुराम थापाको एकतले पक्की घर पूर्ण रूपमा भत्काएको छ। घर बस्न अयोग्य बनेपछि परिवार सुरक्षित रूपमा पुरानो घरमा सरेर बसेको छ।
प्रहरीले दुवै घटनास्थलमा टोली परिचालन गरी आवश्यक समन्वय र क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ। हालसम्म कुनै मानवीय क्षति वा घाइतेको खबर प्राप्त नभएको प्रहरीले जनाएको छ।
