काठमाडौं, साउन २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकारले शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि जस्ता आधारभूत क्षेत्रलाई ओझेलमा पारेर सुरक्षा संयन्त्र विस्तारमा जोड दिएको भन्दै कडा आलोचना गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको छलफलमा सहभागी हुँदै उनले मुलुकको आवश्यकता सैन्य संरचना बढाउनु नभई शिक्षित, दक्ष र रोजगारीयुक्त समाज निर्माण गर्नु रहेको बताए।
उनले नेपालमा जनसंख्याको अनुपातमा सुरक्षाकर्मीको संख्या धेरै रहेको दाबी गर्दै विशेषगरी मधेश क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थितिप्रति आपत्ति जनाए। मधेशबाट सशस्त्र प्रहरी फिर्ता गर्नुपर्ने माग गर्दै उनले सुरक्षा निकायको परिचालनबारे संसद्को सम्बन्धित समितिमा विस्तृत समीक्षा गर्न आग्रह गरे।
सांसद सिंहले विगतका आन्दोलनहरूमा मधेशी, जनजाति, दलित र थारू समुदायमाथि सुरक्षा बलको अत्यधिक प्रयोग भएको आरोप लगाए। यस्ता गतिविधिले समुदाय विशेषमा असुरक्षाको भावना बढाएको र सरकारको नियतमाथि नै प्रश्न उठेको उनको भनाइ थियो।
उनले राष्ट्रियताको नाममा युवालाई सैन्य संरचनामा आबद्ध गराउनेभन्दा स्वदेशमै रोजगारी सिर्जना गर्नु नै साँचो राष्ट्रसेवा हुने बताए। अहिले पनि हजारौं नेपाली युवा रोजगारीको खोजीमा खाडी मुलुक जान बाध्य भइरहेका बेला सरकारले उत्पादन, शिक्षा र उद्यमशीलतामा लगानी गर्नुपर्ने उनको धारणा थियो।
सांसद सिंहले सुरक्षा निकायको भूमिका, आवश्यकता र परिचालनबारे संसद्मा गम्भीर छलफल हुनुपर्ने उल्लेख गर्दै विकासमुखी नीतिलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन्।
