कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड बजेट लिन शेखर कोइरालाको अस्वीकार


कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड बजेट लिन शेखर कोइरालाको अस्वीकार
  • नवकिरण
  • श्रावण २२, २०८३

काठमाडौं, साउन २२ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको पुनःनिर्माण तथा मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ नलिने घोषणा गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र लेख्दै उनले उक्त बजेट फिर्ता लिन आग्रह गरेका हुन्। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कोइराला निवासको पुनःनिर्माणका लागि २ करोड रुपैयाँ छुट्याएको थियो।

डा. कोइरालाले पत्रमा गत वर्षको जेन–जी आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएको कोइराला निवास केवल एउटा भवन नभई नेपाली लोकतान्त्रिक आन्दोलन, राजनीतिक चेतना र राष्ट्रिय इतिहासको महत्वपूर्ण प्रतीक रहेको उल्लेख गरेका छन्। उनले त्यसको ऐतिहासिक महत्व भौतिक संरचनाभन्दा धेरै ठूलो भएको बताएका छन्।

उनका अनुसार बीपी कोइरालाले जीवनभर आम नेपालीको गाँस, बास र कपासका लागि संघर्ष गरेकाले राज्यले त्यही आदर्शलाई व्यवहारमा उतार्नु नै बीपीप्रतिको सच्चा सम्मान हुने विश्वास व्यक्त गरेका छन्। व्यक्तिगत रूपमा सरकारी बजेट स्वीकार गर्नु नैतिक रूपमा उचित नहुने निष्कर्षमा पुगेको उनले पत्रमार्फत स्पष्ट पारेका छन्।

गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा विराटनगर–७ मा रहेको कृष्णप्रसाद कोइरालाले निर्माण गरेको ऐतिहासिक कोइराला निवास आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसपछि सरकारले यसको पुनःनिर्माणका लागि बजेट व्यवस्था गरेको थियो।