काठमाडौं, साउन २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारभित्र विवाद तथा असमझदारी उत्पन्न भएको भन्दै बाहिर आएका चर्चालाई निराधार अफवाहको संज्ञा दिएका छन्।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले आफूहरूबीच कुनै किसिमको झगडा नभएको दाबी गरे। पार्टी र सरकारबारे विभिन्न कोणबाट फैलाइएका ‘र्युमर’लाई गम्भीर रूपमा नलिन आग्रह गर्दै उनले त्यसलाई ‘स्न्याक्स’का रूपमा लिनुपर्ने बताए।
‘राजनीतिक रूपमा केही अप्ठ्यारो भयो कि, पार्टीभित्र केही बिग्रियो कि, झगडा पर्यो कि भनेर विभिन्न र्युमरहरू आउने गरेका छन्,’ उनले भने, ‘आज विकेन्ड पनि हो, त्यसैले ती र्युमरलाई स्न्याक्सका रूपमा ग्रहण गर्नुहोला। र्युमर स्न्याक्स मात्रै हुन्, त्यसको त्यसभन्दा बढी कुनै भ्यालु छैन।’
लामिछानेले रास्वपाले कुनै व्यक्तिसँग मात्र नभई देशको इतिहाससँग प्रतिबद्धता गरेको दाबी गरे। आफूहरूले गरेका वाचा र प्रतिबद्धताबाट पछि हट्ने अधिकार कसैलाई नभएको उनको भनाइ थियो।
उनले सरकारले रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म सबै वाचा पूरा हुन नसकेको स्वीकार गरे। तर, प्रतिबद्धता पूरा गर्न आफूहरू निरन्तर प्रयासरत रहेको र असफलताबाट हार नमान्ने उनले बताए।
‘सरकारले धेरै मानिसलाई रोजगारी दिने वाचा गरेको छ। हामीले बोलेका कुरा र त्यससम्बन्धी भिडियोहरू पनि सार्वजनिक छन्। तोकिएको समयमा सबै वाचा पूरा नभएका हुन सक्छन्, तर हामी हार मान्दैनौं,’ लामिछानेले भने।
उनका अनुसार देश र समाज परिवर्तनका लागि सबैलाई सधैं अवसर प्राप्त हुँदैन। अहिलेको समयलाई उनले परिवर्तनका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।
लामिछानेले आफूहरू परिवर्तनको नेतृत्व गर्नेभन्दा पनि जनतालाई काम गर्न सक्ने वातावरण निर्माण गर्ने भूमिकामा रहेको बताए।
‘इतिहासले हरेक देश र समाजलाई सधैं यस्तो अवसर दिँदैन। समाज र इतिहासले हामीलाई एउटा अवसर दिएको छ। हामी त्यसका संवाहक मात्रै हौं। वास्तविक परिवर्तन गर्ने शक्ति तपाईंहरूसँग छ। हाम्रो काम तपाईंहरूलाई काम गर्न सक्ने वातावरण बनाइदिने हो,’ उनले भने।
