तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत फेला


तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत फेला
  • नवकिरण
  • श्रावण २४, २०८३

बुटवल, साउन २४ – तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर एवं नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन्।

६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिंगे जंगलमा भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए। सिंह शुक्रबारदेखि परिवारको सम्पर्कबाट बाहिर थिए।

प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ मा रहेको घरबाट मोटरसाइकल चढेर बाहिरिएका थिए। त्यसपछि उनी घर नफर्किएपछि परिवारले खोजी थालेको थियो।

खोजी गर्ने क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगलमा सिंहले प्रयोग गर्ने लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल फेला परेको थियो। मोटरसाइकल जंगलमा भेटिएपछि प्रहरीले सोही आसपासका क्षेत्रमा खोजीलाई केन्द्रित गरेको थियो।

सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत ल्याएर परिचालन गरिएको थियो। प्रहरी तथा अन्य टोलीले विभिन्न स्थानमा खोजी गरेपछि आइतबार उनको शव फेला पारेको हो।

सिंहको मृत्युको कारण भने अहिलेसम्म खुलिसकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।