काठमाडौं, साउन २५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तनसम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाएका छन् । उनले आफूले सिंहदरबारको नाम तत्काल परिवर्तन गर्नुपर्छ नभनेको स्पष्ट पार्दै विगतको परिवर्तनकै क्रममा नाम परिवर्तन गरिएको भए उपयुक्त हुने धारणा मात्र राखेको बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले आफ्नो लामो अभिव्यक्तिबाट केही अंश मात्रै काटेर हेडलाइन बनाइएको दाबी गरे । त्यसकै आधारमा आफूलाई आलोचना गरिएको भन्दै उनले सिंहदरबारको नाम र इतिहासबारे बहस गर्नुअघि यसको निर्माणसँग जोडिएका तथ्य अध्ययन गर्न आग्रह गरे ।
ढकालले सिंहदरबार निर्माणको इतिहासमा श्रमिकमाथि भएको शोषण र राज्यशक्तिको दुरुपयोगको विषय पनि रहेको बताए । उनका अनुसार निर्माणका क्रममा करिब १५ हजार मजदुरलाई अत्यन्त न्यून पारिश्रमिकमा काम लगाइएको थियो । मजदुरलाई नगद ज्याला नदिई एक छाक खानाको भरमा काम गराइएको उनको दाबी छ ।
त्यस्तै, तत्कालीन शासकको व्यक्तिगत निवास निर्माणमा राज्यको ढुकुटीबाट ठूलो रकम खर्च गरिएको र सेनासमेत प्रयोग गरिएको उनले बताए । सिंहदरबार निर्माणमा राज्यस्रोतको प्रयोग र त्यसको ऐतिहासिक पृष्ठभूमिबारे सार्वजनिक रूपमा बहस हुनुपर्ने उनको भनाइ छ ।
सिंहदरबार नामकरणको प्रसंगमा पनि ढकालले यसको नाम कुनै प्राज्ञिक वा सार्वजनिक बहसपछि तय नभएको तर्क गरे । ‘सिंह’ शब्दले शासकीय शक्ति, घमण्ड र हिंसात्मक भाव झल्काउने भएकाले अहिलेको लोकतान्त्रिक राज्य संरचनासँग त्यसको प्रतीकात्मक सम्बन्धबारे प्रश्न उठाउन सकिने उनले बताए ।
ढकालले सिंहदरबारलाई राज्यसत्ता र नागरिकबीचको दूरीको प्रतीकका रूपमा समेत व्याख्या गरे । राज्यको केन्द्रमा पहुँच नपुगेका समुदायका समस्या अझै समाधान हुन नसकेको उदाहरण दिँदै उनले चेपाङ समुदायको सडक, कुपोषण तथा जीवनस्तरको विषय उठाए ।
उनले आफूले यो विषय सांसद बनेपछि मात्रै अध्ययन गरेको नभई त्यसअघि नै इतिहास पढेको दाबी गरे । आफ्नो करिब २३–२४ मिनेटको अभिव्यक्ति पूरा सुनेपछि मात्रै धारणा बनाउन आग्रह गर्दै ढकालले एउटा भिडियोको टुक्राका आधारमा आफूलाई ‘इतिहास मेटाउन खोजेको’ आरोप लगाउनु गलत भएको बताए ।
‘इतिहास पढेर बहस गरौँ, एउटा टुक्रा काटेर बनाइएको हेडलाइनका आधारमा इतिहास र मेरो भनाइको अर्थ नबुझौँ,’ भन्ने उनको आशय थियो ।
