रुग्ण उद्योगलाई पुनर्जीवन दिने सरकारको अभियानमा प्रचण्डको साथ


रुग्ण उद्योगलाई पुनर्जीवन दिने सरकारको अभियानमा प्रचण्डको साथ
  • नवकिरण
  • श्रावण २६, २०८३

काठमाडौं, साउन २६ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षौंदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने सरकारको पहलको स्वागत गरेका छन्। उनले हेटौँडा कपडा उद्योग सञ्चालनको तयारीलाई सकारात्मक कदमका रूपमा लिएका छन्।

प्रचण्डले हेटौँडा कपडा उद्योग सञ्चालनमा आए कपडा आयातमा नेपालको निर्भरता घट्नुका साथै स्वदेशी उत्पादन बढ्ने बताएका छन्। यसले राष्ट्रिय अर्थतन्त्रलाई समेत बलियो बनाउन सहयोग पुग्ने उनको विश्वास छ।

उनले आफू प्रधानमन्त्री हुँदा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार पारिएको स्मरण गरेका छन्। त्यतिबेला गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायत उद्योग पुनः सञ्चालन गर्ने योजना अघि बढाइएको उनको भनाइ छ।

सरकार परिवर्तनसँगै रोकिएको प्रक्रिया पुनः अघि बढ्नु खुसीको विषय भएको प्रचण्डले बताएका छन्। सम्भावना भएका सार्वजनिक उद्योगलाई आधुनिक प्रविधि र व्यावसायिक व्यवस्थापनसहित सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

यसअघि प्रधानमन्त्री बालेन शाहले पनि हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भएको जानकारी दिएका थिए। सरकारले डीडीसी, नेपाल औषधि लिमिटेड र नेपाल वायुसेवा निगमलगायत संस्थानमा समेत सुधारका परिणाम देखिन थालेको दाबी गरेको छ।

उद्योग पुनरुत्थानबाट उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने अवसर बन्न सक्ने भन्दै प्रचण्डले सरकारलाई योजनालाई प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउन आग्रह गरेका छन्।