रोल्पा, साउन २८ – रोल्पाको थबाङ गाउँपालिका–५ बोटबारामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। बुधबार राति खसेको पहिरोले स्थानीयका ६ वटा घर तथा गोठ पुरिएपछि ठूलो जनधनको क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घटनामा ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ। पहिरोमा परी दुई जना घाइते भएका छन्।
घाइते हुनेमा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर रहेका छन्। उनीहरूको उद्धार गरी उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा १० जना बेपत्ता भएकोमा खोजीका क्रममा एक जनाको शव फेला परेको छ। अहिले ९ जना बेपत्ता रहेको र उनीहरूको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर छन्।
बुधबार राति करिब ८ः४० बजे घरमाथिबाट पहिरो खसेको थियो। स्थानीय र प्रहरी टोलीले जोखिमबीच बेपत्ताको खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्। घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
