प्रधानमन्त्री ओली लुम्बिनीमा, अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभलको उद्घाटन


प्रधानमन्त्री ओली लुम्बिनीमा, अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभलको उद्घाटन
  • नवकिरण
  • बैशाख १३, २०८२

बुटवल, वैशाख १३ – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न पुगेका छन्। नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन लुम्बिनीमा चौथो संस्करणको फेस्टिभल आयोजना गरिएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन्। फेस्टिभल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनार लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा र सारीपुत्र फाउन्डेसनको समन्वयमा भइरहेको छ।

नेपाल र चीनबीच कला तथा संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस फेस्टिभलमा चीनको वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीको सहकार्य रहेको छ।

संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषको समेत सहकार्य रहेको फेस्टिभलमा ४० देशका प्रतिनिधिहरू सहभागी छन्। आयोजकका अनुसार फेस्टिभलमा ५ हजारभन्दा बढीको सहभागिता रहनेछ।