काठमाडौँ, जेठ १७ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका महिलालाई सङ्गठित गर्न विशेष जोड दिएका छन्।
अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय कमिटीको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्षमुनिका कम्तीमा ४० प्रतिशत र ३० वर्षमुनिका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाउँदै देशव्यापी अभियान सञ्चालन गर्न आग्रह गरेका हुन्।
अध्यक्ष ओलीले महिलावादका नाममा जुनसुकै विचारधाराका महिलालाई समर्थन जनाउने प्रवृत्ति सही नभएको उल्लेख गर्दै अनेमसङ्घलाई निष्ठावान्, क्षमतावान् र सक्रिय संगठनको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
उनले पार्टीको विपक्षमा नभई पक्षमा सामाजिक सञ्जालमा सक्रिय भूमिका खेल्न कार्यकर्तालाई निर्देशन दिँदै नेपालले दुई कार्यकालसम्म महिला राष्ट्रपतिका रूपमा पाएको र सबै तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिसकेको उल्लेख गर्दै नेपाल कतिपय विकसित देशभन्दा पनि महिला सहभागिताको दृष्टिले अग्रमोर्चामा रहेको बताए।
अध्यक्ष ओलीले मिसन २०८४ अन्तर्गत एमालेलाई एकल बहुमतको पार्टी बनाउने अभियानमा जुट्न कार्यकर्तालाई आव्हान गर्दै इतिहास रच्ने गरी मुलुकको विकास, सुशासन र समृद्धिलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्।