मनसुन सक्रिय: बाढी–पहिरोको जोखिम बढेपछि उद्धार संयन्त्र तयारी अवस्थामा


मनसुन सक्रिय: बाढी–पहिरोको जोखिम बढेपछि उद्धार संयन्त्र तयारी अवस्थामा
  • नवकिरण
  • अषाढ १७, २०८३

काठमाडौं, असार १७ – मनसुन देशभर सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्न थालेपछि सरकारले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ। सम्भावित विपद्को सामना गर्न आवश्यक जनशक्ति, उपकरण र उद्धार सामग्री तयारी अवस्थामा राखिएको जनाइएको छ।

सशस्त्र प्रहरी बलले देशभर ५४ वटा अस्थायी मनसुन प्रतिकार्य बेस सञ्चालनमा ल्याएको छ भने अति जोखिमयुक्त क्षेत्रमा विशेष उद्धार टोली परिचालनका लागि स्थायी बेस तयारी अवस्थामा राखिएको जनाएको छ। विपद्को सूचना छिटो संकलन गर्न १११४ हटलाइन र ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एपसमेत सञ्चालनमा ल्याइएको छ।

यता, नेपाली सेनाले पनि मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै तीन चरणको पूर्वतयारी योजना कार्यान्वयन गरेको जनाएको छ। आवश्यक परे तत्काल हवाई उद्धार गर्न इटहरी, सुर्खेत र काठमाडौंमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने बेली ब्रिज र आपत्कालीन स्वास्थ्य सामग्रीसमेत विभिन्न स्थानमा स्ट्यान्डबाइमा राखिएको छ।

सरकारले सर्वसाधारणलाई मौसम पूर्वानुमान नियमित रूपमा पछ्याउन, जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन र कुनै पनि विपद्को सूचना सम्बन्धित निकायलाई तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ।