खोटाङ, जेठ १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रावाबेँसी गाउँपालिका सभापति कृष्ण पाण्डे एमालेमा प्रवेश गरेका छन्।
बुधबार डुम्रेधारापानीको धैरेनीटारमा आयोजित अगुवा कार्यकर्ता भेलाको अवसरमा उनले औपचारिक रूपमा नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।
पाण्डेलाई एमाले पोलिटब्युरो सदस्य तथा खोटाङ इन्चार्ज विशाल भट्टराईले पार्टीमा स्वागत गरे। भट्टराईले पाण्डेलाई उचित जिम्मेवारी दिइने बताउँदै उनको आगमनले पार्टी अझ सशक्त बनेको उल्लेख गरे।
पार्टी परित्यागको कारणबारे बोल्दै पाण्डेले रास्वपा पछिल्लो समय राजनीतिक अपरिपक्वतामा फसेको र विभिन्न काण्डमा संलग्न भइरहेका कारण आफूले पार्टी त्याग गरेको बताए।
कार्यक्रममा पोलिटब्युरो सदस्य भट्टराईका साथै एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, नेता लीलानाथ निरौला, कौशिला गुरुङ, बाबुराम जोशी, वीरेन्द्र मगरलगायतको उपस्थिति थियो।