एमालेलाई गाली नगरी माओवादी र रास्वपाको पसल चल्दैन : उपमहासचिव ज्ञवाली


एमालेलाई गाली नगरी माओवादी र रास्वपाको पसल चल्दैन : उपमहासचिव ज्ञवाली
  • नवकिरण
  • जेष्ठ २३, २०८२

भक्तपुर, जेठ २३ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेविरुद्ध हाल संगठित रूपमा विभिन्न दलहरू लागेको आरोप लगाएका छन्। शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशस्तरीय कार्यशालामा सम्बोधन गर्दै उनले राजावादी, माओवादी र रास्वपालगायतका दलहरू एमाले र त्यसको नेतृत्वलाई लक्षित गरी योजनाबद्ध रूपमा लागिपरेको दाबी गरे।

ज्ञवालीले भने, “अहिले एमाले र एमालेको नेतृत्वविरुद्ध गाली नगरी पसल चल्दैन भन्नेमा सबैभन्दा बढी राजावादी, माओवादी र रास्वपा लागेको देखिन्छ।” उनका अनुसार एमाले गणतन्त्रवादी दल भएकाले राजावादीहरू त्यसको विपक्षमा उभिएको, माओवादीले ३२ सिटको ‘जादु’ नचलेपछि सरकारमा नराखिएको रिस पोखिरहेको र रास्वपाले पुराना दललाई गाली नगरी अघि बढ्न नसक्ने मान्यता राखेको बताए।

उनले यस्तो परिस्थितिमा सबैको केन्द्रविन्दु एमाले भएकाले योजनाबद्ध रूपमा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

ज्ञवालीले विगतको निर्वाचनमा चौतर्फी घेराबन्दी हुँदाहुँदै पनि एमालेले त्यो घेराबन्दी तोडेर पुनः सरकारमा पुग्न सफल भएको दाबी गरे। उनले पार्टीको प्रभावकारी प्रचार, जनप्रतिनिधिहरूको काम, तथा पार्टी र जनसंगठनको सक्रिय भूमिकाको आधारमा जनमत बढ्ने भएकाले त्यसतर्फ केन्द्रित हुन निर्देशन दिए।

उनले देश विकास गर्ने र राष्ट्रवादी शक्तिका रूपमा एमालेलाई अघि सारे। कार्यक्रममा उनले आगामी निर्वाचन लक्षित ‘मिसन ८४’ लाई ध्यानमा राखी सबै कार्यकर्तालाई आ-आफ्नो स्थानबाट सक्रिय भएर लाग्न आग्रह गरे।

कार्यशालामा बागमती प्रदेश उपसचिव तथा प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले दुई दिने कार्यशालाबाट १०१ सदस्यीय प्रचार सञ्जाल गठन गरिएको जानकारी दिइन्।