काठमाडौं, कार्तिक १५ – नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पुनः एमालेमा फर्कन कुनै आपत्ति नभएको बताएका छन् । तर, उनले त्यसका लागि ‘ढोका राम्रोसँग खोलिनुपर्ने’ शर्त अघि सारेका छन् ।
शनिबार काठमाडौंमा आयोजित आफ्ना निकट नेताहरूको भेलामा बोल्दै खनालले अहिलेको पार्टी विभाजित अवस्थामा रहेको भन्दै एकीकरणको आवश्यकता रहेको बताएका हुन् । उनका अनुसार, अबको लक्ष्य कम्युनिस्ट आन्दोलनलाई पुनः एकतामा ल्याउनु र सशक्त बनाउनुपर्ने हो ।
खनालले भने, “हामीले आन्दोलनलाई एक ठाउँमा ल्याउनुपर्छ । अहिले टुक्रिएको अवस्थालाई जोड्ने बेला आएको छ ।” उनले पार्टी एकता प्रक्रियामा छलफल अघि बढिरहेको पनि बताएका छन् ।
एमालेमा फर्कने सम्भावनाबारे सोधिएको प्रश्नमा खनालले भने, “एमालेमा फर्कन मलाई कुनै आपत्ति छैन, तर ओलीजीले ‘घर फर्क’ भने मात्रै हुँदैन । ढोका राम्रोसँग खोलिनुपर्छ र बस्ने वातावरण पनि तयार हुनुपर्छ ।”
उनले कम्युनिस्ट आन्दोलनलाई बलियो र सुसंगठित बनाउन नेताहरूबीच सहमति र सहकार्य जरुरी भएको जोड दिए ।
