ऊर्जा मन्त्री कुलमान घिसिङ अब आफ्नै नेतृत्वमा राजनीतिक दल दर्ता गर्न तयारीमा


ऊर्जा मन्त्री कुलमान घिसिङ अब आफ्नै नेतृत्वमा राजनीतिक दल दर्ता गर्न तयारीमा
  • नवकिरण
  • कार्तिक १७, २०८२

काठमाडौँ, कात्तिक १७ – लामो राजनीतिक छलफल र अनिश्चिततापछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ अब आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारीमा पुगेका छन्।

स्रोतका अनुसार, उनले पछिल्ला दिनमा पार्टी दर्ता अर्को व्यक्तिको नाममा गर्ने योजना त्याग्दै, आफैं अध्यक्ष भएर दल घोषणा गर्ने निर्णय गरेका हुन्।

कुलमान निकट स्रोतले जनाएको छ, “हिजो भएको अन्तिम छलफलपछि उहाँले अब ढिलाइ गर्नु हुँदैन, आफैं नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुग्नुभएको छ।”

नयाँ पार्टी कात्तिक १९ गते दर्ता हुने तयारीमा छ। पार्टीको नामका लागि ‘उज्यालो नेपाल’ र ‘नेपाल विकास दल’ बीच अन्तिम छलफल चलिरहेको बताइएको छ। त्यसैगरी, ‘बिजुलीको चिम’ चुनाव चिन्हका रूपमा प्रस्ताव गरिएको छ, तर टुंगो भने लागेको छैन।

घिसिङलाई अध्यक्ष बनाएर सुरुमा केन्द्रीय समितिमा केही सीमित सदस्य रहनेछन्। चर्चामा रहेका सदस्यहरूमा सुमना श्रेष्ठ, सागर ढकाल, सुदन गुरुङ, प्रवेश दाहाल र सबल गौतम रहेका छन्। ती सबै घिसिङको नेतृत्वमा नयाँ राजनीतिक विकल्पको तयारीमा देखिएका छन्।

तर, सुदन गुरुङले सामाजिक सञ्जालमार्फत आफूलाई नसोधी पार्टीबारे समाचार लेखिएको भन्दै असन्तुष्टि जनाएका छन्।

कुलमान र काठमाडौँका मेयर बालेन शाहबीच पनि पार्टी गठनबारे लामो समयदेखि छलफल भए पनि त्यो सम्भावना कमजोर भएको छ। प्रारम्भमा दुवैजनाले एउटै राजनीतिक प्लेटफर्ममा आउने योजना बनाएका थिए, तर बालेनले प्रत्यक्ष राजनीतिमा सक्रिय हुन झुकाव नदेखाएको स्रोतको भनाइ छ।

अब कुलमानले बालेनको साथबिना नै पार्टी घोषणा गर्ने तयारी पूरा गरेका छन्। बालेनले नयाँ दललाई “बाहिरबाट समर्थन गर्ने सम्भावना” रहेको स्रोतले जनाएको छ, तर प्रत्यक्ष संलग्न हुने वा प्रचारमा सहभागिता जनाउनेबारे यकिन छैन।

एक सहभागीले भने, “यदि कुलमानजस्तो जनप्रिय अनुहारले नेतृत्व गरेन भने नयाँ पार्टीलाई जनतामाझ विश्वसनीय बनाउन कठिन हुन्छ। त्यसैले उहाँ आफैं अघि सर्नु उचित ठहरियो।”

राजनीतिक विश्लेषकहरू भन्छन्, कुलमान घिसिङको राजनीतिमा प्रवेशले “स्वच्छ र नतिजामुखी राजनीतिप्रतिको जनविश्वास” बलियो बनाउन सक्छ। उनका कदमहरूले आगामी निर्वाचनमा नयाँ शक्ति समीकरण सिर्जना गर्ने संकेत देखिएको छ।