काठमाडौं , मंसिर २७ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष पदबाट हटेका सुजन कडरिया पार्टीको ११औँ महाधिवेशन प्रतिनिधि बनेका छन्।
एमालेले कडरियासहित १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो। विद्यार्थी राजनीतिबाट बाहिरिएपछि उनी औपचारिक रूपमा पार्टी राजनीतिमा सक्रिय भएका हुन्।
गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा कडरियाले अनेरास्ववियुको अध्यक्ष पदबाट राजीनामा घोषणा गरेका थिए। यद्यपि, केही समयपछि उनी पुनः जिम्मेवारीमा फर्किएका थिए।
तर आलोचना चर्किएपछि मंसिर १ गते उनले दोस्रोपटक अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामा अनेरास्ववियुको केन्द्रीय समितिले स्वीकृत गर्दै अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई सुम्पिएको थियो।
त्यसपछि पार्टी राजनीतिमा जोडिएका कडरियालाई एमालेले महाधिवेशन प्रतिनिधिका रूपमा मनोनयन गरेको हो।
