काठमाडौं, पुस १ – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज महाधिवेशन अन्तर्गत मतदान हुँदैछ। निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोके पनि प्राविधिक कारणले मतदान प्रक्रिया दिउँसो ढिलो सुरु हुन सक्ने प्रचार विभागले जनाएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मतदान सुरु हुन चार बज्न सक्ने अनुमान गरिएको छ। मतदानस्थल भृकुटीमण्डपमा बिहानैदेखि नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ।
पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ। ओली प्यानलबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार छन् भने ईश्वर पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका प्रत्याशी हुन्।
मतदान सुरु हुनुअघि ओली पक्षका नेता–कार्यकर्ताहरूले महाधिवेशन स्थलमा आक्रामक प्रचार गरिरहेका छन्। त्यसको विपरीत ईश्वर पोखरेल समूह फिल्डमा तुलनात्मक रूपमा सुस्त देखिएको छ। तर, नेताहरूका अनुसार ईश्वर समूह सतहमा कम देखिए पनि आन्तरिक रणनीतिमा केन्द्रित रहेको छ।
ईश्वर समूहले विशेषगरी प्यानलमा नपरेर स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूसँग संवाद र सहकार्य गरिरहेको बताइएको छ।
उपाध्यक्ष पदमा नेता रघुजी पन्तले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी ओली प्यानलबाट उपाध्यक्षका आकांक्षी थिए तर प्यानलमा समावेश नभएपछि स्वतन्त्र रूपमा मैदानमा उत्रिएका हुन्।
त्यस्तै, ओली प्यानलबाट पदाधिकारी बन्न चाहेका अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठले पनि उम्मेदवारी दिएका छन्। अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका हुन्। उनलाई ओली प्यानलमा केन्द्रीय सदस्यमा मात्र समेटिएको थियो। खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता, विज्ञ सल्लाहकार तथा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका थिए। संसद् विघटनको बेला उनले महान्यायाधिवक्ताका रूपमा दिएको सल्लाहलाई लिएर विवादसमेत भएको थियो।
कृष्णगोपाल श्रेष्ठ पनि ओली नेतृत्वको मन्त्रिपरिषद्का सदस्य थिए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहँदा २०७८ सालको त्रिवि दीक्षान्त समारोहमा ओलीको खुलेर प्रशंसा गर्दै फुटबल खेलाडी पेलेसँग तुलना गरेका थिए।
ओली प्यानलमा नपरेपछि नेता लालबाबु पण्डितले पनि सचिव पदमा उम्मेदवारी दिएका छन्। यसैगरी, भीम आचार्यले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
एमालेको नयाँ नेतृत्व चयनका लागि हुने मतदानले पार्टीभित्रको शक्ति सन्तुलन कुन दिशातर्फ जाने हो भन्ने चासो बढाएको छ।
