मतदानपछि ज्योती मगरसँगै बसेर प्रतिनिधिसँग भोट माग्दै केपी ओली


मतदानपछि ज्योती मगरसँगै बसेर प्रतिनिधिसँग भोट माग्दै केपी ओली
  • नवकिरण
  • पौष २, २०८२

काठमाडौं, पुस २ – नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज बुधबार काठमाडौँमा भइरहेको मतदान जारी छ। अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले बिहानै मतदान गरेर प्रक्रियाको सुरुआत गरेका थिए।

मतदान सकेपछि केपी शर्मा ओली भने भृकुटीमण्डप परिसरको चौरमा बसेर महाधिवेशन प्रतिनिधिहरूसँग अनौपचारिक कुराकानी गर्दै भोट मागिरहेका छन्। उनी गायिका ज्योती मगरसँगै बसेर प्रतिनिधिहरूसँग गफिँदै आफ्ना उम्मेदवारको पक्षमा समर्थन जुटाउन सक्रिय देखिएका छन्।

सो क्रममा ओलीले ज्योती मगरलाई सुन्तलासहितको प्लास्टिकको झोला दिएको दृश्य पनि देखिएको थियो। अनौपचारिक माहोलमै उनीहरूले प्रतिनिधिहरूसँग कुराकानी गरिरहेका थिए।

गायिका ज्योती मगर मंगलबारदेखि नै एमाले महाधिवेशन स्थल भृकुटीमण्डप पुगेर विभिन्न उम्मेदवारको प्रचारमा सहभागी हुँदै आएकी छन्। बुधबार पनि उनी बिहानैदेखि स्थलमा उपस्थित भई प्रतिनिधिहरूसँग भेटघाट गर्दै भोट मागिरहेको देखिएको छ।