काठमाडौं, पुस २२ – राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमा सक्रिय बनेका छन् । पार्टीसँग सम्बन्धित बाहिरी कार्यक्रम स्थगित गर्दै उनले एकता प्रक्रियामा संलग्न नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् ।
मंगलबार बिहान प्रचण्डले सहसंयोजक माधवकुमार नेपालसँग निर्वाचन रणनीति र सम्भावित तालमेलका विषयमा छलफल गरेका थिए । पार्टी स्रोतका अनुसार दिउँसो उनले एकतामा सहभागी १७ दलका प्रमुख नेताहरूसँग थप बैठक गर्ने कार्यक्रम रहेको छ ।
केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउनुपर्ने भएकाले प्रचण्ड बिहानदेखि नै बैठकमा व्यस्त छन् । “आन्तरिक छलफल जारी छ, आज नै पार्टीको तर्फबाट उम्मेदवारको निर्णय गर्नुपर्ने भएकाले नेतृत्व छलफलमै केन्द्रित छ,” पुनले बताए ।
प्रचण्डले यसअघि माधवकुमार नेपालसहित महिन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ र रञ्जिता श्रेष्ठलगायत नेताहरूसँग पनि परामर्श गरिसकेको जनाइएको छ । फागुन २० गते पदावधि सकिने १८ राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन आयोगले माघ ११ गते निर्वाचनको मिति तय गरेको छ ।
आयोगका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ । सम्मानजनक चुनावी तालमेलका विषयमा प्रचण्डले नेपाली कांग्रेस र एमालेका नेताहरूसँग पनि निरन्तर संवाद गरिरहेको नेताहरूले बताएका छन् ।
