एमालेको यथास्थितिवादी बाटो नअपनाउन नेपाली कांग्रेसलाई जेन–जी अभियन्ता रक्षा बमको कडा सुझाव


एमालेको यथास्थितिवादी बाटो नअपनाउन नेपाली कांग्रेसलाई जेन–जी अभियन्ता रक्षा बमको कडा सुझाव
  • नवकिरण
  • पौष २२, २०८२

काठमाडौँ, पुस २२ – जेन–जी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसलाई नेकपा एमालेको बाटो नअपनाउन र यथास्थितिवादमा नफस्न आग्रह गरेकी छन्। फेसबुकमार्फत खुला पत्र सार्वजनिक गर्दै उनले पार्टीभित्र चलिरहेको महाधिवेशनसम्बन्धी बहसमा आफ्नो धारणा राखेकी हुन्।

उनले नियमित महाधिवेशनको पक्षमा उभिनु भनेको हालै देखिएको आन्दोलन र परिवर्तनको चाहनालाई अस्वीकार गर्नु सरह हुने बताएकी छन्। भदौ २३ पछि राजनीतिक अवस्था असाधारण भइसकेकाले अब असाधारण निर्णय आवश्यक रहेको उनको तर्क छ।

तत्कालीन कांग्रेस नेतृत्व संलग्न सरकारका बेला निहत्था विद्यार्थीमाथि गोली चलाइएको घटनालाई स्मरण गराउँदै उनले राज्यको बेथिति र निराशामा कांग्रेस पनि जिम्मेवार रहेको टिप्पणी गरिन्। युवापुस्ताको आवाज दबाउने यथास्थितिवादले देशलाई ‘मास डिप्रेसन’तर्फ लैजाने खतरा रहेको उनको भनाइ छ।

एमालेले पुरानै नेतृत्व दोहोर्‍याएर अघि बढेको उदाहरण दिँदै बमले कांग्रेसलाई पनि त्यही बाटो रोज्ने कि देशको भविष्य निर्माण गर्ने भन्ने विकल्प खुलेको बताएकी छन्। चुनाव नजिकिँदै गएको अवस्थामा आज लिइने निर्णयले नै कांग्रेस र देशको भोलि तय गर्ने उनको निष्कर्ष छ।