काठमाडौं, पुस २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार क्लब गठन गर्ने तयारी थालेको छ। पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन र इच्छुक उम्मेदवारलाई पूर्व प्रशिक्षण दिने उद्देश्यले यो अवधारणा अघि बढाएको हो।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, रास्वपाको सचिवालय बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारीको अन्तिम मिति, समानुपातिक उम्मेदवार परिचालन, निर्वाचन परिचालन समिति गठन, केन्द्रीय तथा प्रदेश स्तरीय पार्टी प्रवेश कार्यक्रम लगायत १० वटा कार्यसूचीमाथि छलफल हुने छ। यसै बीच स्थानीय तह उम्मेदवार क्लब गठनको विषय पनि छलफल हुने तय गरिएको छ।
नेताहरूका अनुसार, क्लबमा वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार इच्छुकले दर्ता गर्नेछन्। दर्ता भएका उम्मेदवारलाई पार्टीले प्रशिक्षण दिनेछ, जसमा जिम्मेवारी तथा निर्वाचनपछि गर्ने कामबारे जानकारी गराइने छ।
यो अवधारणा पहिलोपटक पार्टी सभापति रवि लामिछानेले २०८० साल मंसिरमा महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा प्रस्तुत गरेका थिए। क्लबमा दर्ता भए पनि व्यक्तिलाई पार्टीको राजनीतिमा सक्रिय हुन अनिवार्यता नरहेको नेताहरूले जानकारी दिएका छन्।
