काठमाडौं, पुस २६ – भोलिदेखि सुरु हुन लागेको नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि सम्बन्धित पक्षका नेताहरूले शीर्ष नेतृत्वलाई निमन्त्रणापत्र वितरण गरिरहेका छन्। यही क्रममा नेता रामपल्टन साह पार्टी सभापति शेरबहादुर देउवालाई निमन्त्रणापत्र दिन शनिबार महाराजगञ्जस्थित निवास पुगेका थिए।
साहका अनुसार निवास परिसरमा प्रवेश पाएपछि उनी करिब आधा घण्टा कुर्नुपरेको थियो। त्यसपछि देउवाका स्वकीय सचिव भानु देउवा बाहिर आएर आफू किन आएको हो भनेर सोधेका थिए। विशेष महाधिवेशनको निमन्त्रणापत्र दिन आएको जानकारी गराएलगत्तै सचिवको व्यवहार अप्रत्याशित रहेको साहले बताए।
उनका भनाइअनुसार भानु देउवाले ‘लाज लाग्दैन ?’ भन्ने टिप्पणी गर्दै निमन्त्रणापत्र साहकै गोजीमा हालिदिएर तत्काल बाहिर निस्कन निर्देशन दिएका थिए। “निस्किहाल, निस्किहाल भनेर हामीलाई बाहिर जान भनियो,” साहले बताए।
साहले त्यतिबेला देउवा निवासमै पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत अन्य शीर्ष नेताहरू उपस्थित रहेको र उनीहरूलाई भने सोही स्थानमै निमन्त्रणापत्र बुझाइएको जानकारी दिए। उक्त घटनापछि पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर नेतृत्व तहमा देखिएको दूरी र असहजता थप स्पष्ट भएको बताइन्छ।
