निर्धारित समयमै निर्वाचन हुनुपर्छ, स्थगित गर्ने प्रयास स्वीकार्य छैन : केपी शर्मा ओली


निर्धारित समयमै निर्वाचन हुनुपर्छ, स्थगित गर्ने प्रयास स्वीकार्य छैन : केपी शर्मा ओली
  • नवकिरण
  • फागुन १०, २०८२

काठमाडौं, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन स्थगित गर्ने प्रयासहरू भइरहे पनि अब तोकिएकै मितिमा चुनाव सम्पन्न हुनुपर्ने बताएका छन्। राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेको अवस्थामा अन्तिम समयमा आएर चुनाव नहुने चर्चा गर्नु गैरजिम्मेवारपूर्ण हुने उनको भनाइ छ।

आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले एमाले चुनावी तयारीमा स्पष्ट र दृढ रहेको उल्लेख गर्दै कुनै पनि भ्रम वा अन्योलमा नपरी विजय हासिल गर्ने लक्ष्यका साथ अघि बढेको बताए। “चुनाव हुन्छ कि हुँदैन भन्ने कुरामा अलमलिनु हुँदैन, हामी जित्ने तयारीमा केन्द्रित छौं,” उनले भने।

उनका अनुसार विगत ६ महिनादेखि आफूहरूले विभिन्न तहमा पहल गर्दा आवश्यक चासो नदिइएको तर अहिले चुनाव नहोस् भन्ने आवाज उठाइनु उपयुक्त होइन। निर्वाचन तयारीका क्रममा राज्यका साथै उम्मेदवारहरूले ठूलो धनराशी खर्च गरिसकेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा प्रक्रिया रोक्ने कुरा जायज नहुने धारणा राखे।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै आधारविहीन रूपमा उत्तेजना फैलाउने प्रयास भइरहेको टिप्पणी गरे। सानो भाँडोमा चर्को आगोमा उम्लिएको दुधजस्तै अवस्था देखिएको उनको भनाइ थियो। चुनावी प्रतिस्पर्धामा आफूहरू कमजोर ठानिएपछि अरू दलका झण्डा जलाउने, विवाद सिर्जना गर्ने र वातावरण बिगार्ने गतिविधि बढेको आरोप समेत उनले लगाए।

एमाले अध्यक्ष ओलीले शान्त, व्यवस्थित र समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।