रास्वपामा झट्का, जिल्ला सभापति कांग्रेसमा फर्किए


रास्वपामा झट्का, जिल्ला सभापति कांग्रेसमा फर्किए
  • नवकिरण
  • फागुन ११, २०८२

हेटौंडा, फागुन ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग गरी पुनः नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनले तीन दशक लामो राजनीतिक यात्रा पुनः पुरानै दलबाट अघि बढाउने निर्णय गरेका हुन्।

रास्वपाले हेटौंडाको हुप्रचौरमा सभा गरिरहँदा पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका थिए। उनलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पार्टीमा स्वागत गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र सीमित व्यक्तिको प्रभाव बढेको, आलोचनालाई अस्वीकार गर्ने प्रवृत्ति मौलाएको र आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप लगाएका छन्। आफूले अपेक्षा गरेअनुसार पार्टी अघि नबढेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

पराजुली २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका थिए। आगामी २१ फागुनको निर्वाचनका लागि टिकट नपाएपछि उनी असन्तुष्ट बनेका थिए।

पराजुली कांग्रेसका पुराना नेता हुन् र मकवानपुरको पश्चिमी क्षेत्रमा प्रभावशाली छवि बनाएका छन्। उनको निर्णयसँगै जिल्लाको राजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको छ।