हुम्लाका १५ मतदान केन्द्रमा ३०० भन्दा कम मतदाता, हिमपातले मतदान सामग्री ढुवानी चुनौतीपूर्ण


हुम्लाका १५ मतदान केन्द्रमा ३०० भन्दा कम मतदाता, हिमपातले मतदान सामग्री ढुवानी चुनौतीपूर्ण
  • नवकिरण
  • फागुन १३, २०८२

अदानचुली (हुम्ला), फागुन १३ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम ६४ मतदान केन्द्रमध्ये १५ केन्द्रमा तीन सयभन्दा कम मतदाता रहेका छन्। जिल्लामा कुल ३४ हजार ३७२ मतदाता दर्ता भएका छन्।

सबैभन्दा कम मतदाता ताँजाकोट गाउँपालिका–३ स्थित बानादेव आधारभूत विद्यालयमा ५४ जना मात्र छन्। उक्त स्थान गाउँपालिकाको केन्द्रबाट एक दिन पैदल दूरीमा रहेको र सडक पहुँच नभएको जनाइएको छ।

सर्केगाड र चङ्खेली गाउँपालिकाका केही मतदान केन्द्रमा पनि ३०० भन्दा कम मतदाता छन्। तीमध्ये देबल आधारभूत विद्यालय तुम्च, धुमचुली आधारभूत विद्यालय कल्लास, डाँफे आधारभूत विद्यालय नेप्का र रारा आधारभूत विद्यालय मेखालालगायत केन्द्र पर्छन्।

उत्तरी नाम्खा गाउँपालिकाका आठ मतदान केन्द्रमा पनि मतदाता संख्या न्यून छ। हिमशिखर प्रावि तिलगाउँ, भृकुटी प्रावि जाँङगाउँ र सुनखानी प्रावि हल्जीमा तीन सयभन्दा कम मतदाता रहेका छन्। अधिकांश बासिन्दा बाहिर बसोबास गर्ने भएकाले उपस्थिति चुनौतीपूर्ण हुन सक्ने देखिएको छ।

यसैबीच, सबैभन्दा धेरै मतदाता खार्पुनाथ गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालय लालिमामा एक हजार ६३ छन्। हिमपातका कारण केही दुर्गम केन्द्रमा मतदान सामग्री ढुवानी र कर्मचारी परिचालनमा कठिनाइ हुने सम्भावना रहेको छ।