इन्जिनियर र ठेकेदारलाई दोषारोपण गर्दै देश नबन्ने : विश्वप्रकाश शर्मा


इन्जिनियर र ठेकेदारलाई दोषारोपण गर्दै देश नबन्ने : विश्वप्रकाश शर्मा
  • नवकिरण
  • फागुन १६, २०८२

गुल्मी, फागुन १६ – विश्वप्रकाश शर्मा ले देश निर्माणका सवालमा प्राविधिक जनशक्ति र निर्माण व्यवसायीमाथि आक्रोश पोखेर समाधान ननिस्कने बताएका छन्। गुल्मी क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले इन्जिनियर, ठेकेदार र श्रमिकलाई रुखमा बाँध्ने जस्ता अभिव्यक्तिले विकास सम्भव नहुने स्पष्ट पारे।

उनले नाम नलिए पनि बालेन शाह तर्फ संकेत गर्दै उत्तेजनापूर्ण भाषणले मात्रै देश नबन्ने टिप्पणी गरे। “देश बनाउन स्पष्ट दृष्टिकोण, ठोस योजना र निरन्तर मेहनत चाहिन्छ,” उनले भने, “भावनामा बगेर गरिने टिप्पणीले उत्पादनशील वातावरण बन्दैन।”

शर्माले पैसामात्रै भएर समृद्धि नआउने उल्लेख गर्दै सोच, संकल्प र कार्यसंस्कृति नै परिवर्तनको आधार हुने बताए। उनका अनुसार नेपाली कांग्रेसले विकास निर्माणका कामलाई तीव्रता दिन तीन सिफ्टमा काम गर्ने योजना अघि सारेको छ। “पहिले १० वर्षमा सकिनुपर्ने आयोजना ३० वर्ष लाग्ने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने, “अब ३० वर्षको काम १० वर्षमै सक्ने गरी दिन-रात खटिनुपर्ने समय आएको छ।”

नेपालमा प्रचलित ‘सूर्य अस्त, नेपाल मस्त’ भन्ने मानसिकता त्यागेर परिणाममुखी र उत्पादनशील संस्कृतिमा जानुपर्नेमा उनले जोड दिए। देशलाई अघि बढाउन राजनीतिक दल, प्राविधिक जनशक्ति, निजी क्षेत्र र श्रमिकबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा गुल्मी–१ का प्रतिनिधिसभा उम्मेदवार चन्द्र भण्डारी सहित प्रदेश र जिल्ला तहका नेताहरूले पनि सम्बोधन गर्दै विकास, सुशासन र स्थायित्वका लागि कांग्रेसलाई समर्थन गर्न आग्रह गरेका थिए।