काठमाडौं, फागुन १६ – गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डॉ. बाबुराम भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा समर्थन जनाउने औपचारिक निर्णय गरेको हो। पार्टीको जिल्ला समितिको बैठकले यस्तो निष्कर्ष निकालेको जनाएको छ।
प्रलोपाका गोरखा जिल्ला अध्यक्ष नारायण खत्रीका अनुसार दुई दलबीच सहकार्य गर्ने समझदारी बनेपछि सोहीअनुसार निर्णय गरिएको हो। तर समानुपातिकतर्फ भने प्रलोपाले आफ्नै चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको उनले जानकारी दिए।
यस निर्णयप्रति नेपाली कांग्रेस गोरखाले स्वागत तथा आभार व्यक्त गरेको छ। स्मरणीय छ, २०७४ सालको निर्वाचनमा कांग्रेससँग तालमेल गरेर डा. भट्टराई गोरखा–२ बाट निर्वाचित भएका थिए। यसपटक उनले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिएका थिए।
