काठमाडौँ, फागुन १७ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा गोरखा–१ मा राजनीतिक तापक्रम बढ्दै गएको छ। नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने प्रयास भएको आरोप लगाएका छन्।
आफूसम्बन्धी विषयमा कुनै आधिकारिक छानबिन नभएको दाबी गर्दै खत्रीले नक्कली उद्धार प्रकरणसँग जोडेर अनावश्यक प्रचार गरिएको बताएका छन्। उनका अनुसार चुनावको मुखमा मतदाता प्रभावित पार्ने उद्देश्यले यस्तो प्रचार गरिएको हो।
ठमेलस्थित एससीई हिमालयका सञ्चालकसमेत रहेका खत्रीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको भन्ने हल्ला चलेको थियो। तर कम्पनीले जारी गरेको विज्ञप्तिमा सम्बन्धित निकायसँग बुझ्दा खत्री वा कम्पनीविरुद्ध कुनै अनुसन्धान नभएको जानकारी प्राप्त भएको उल्लेख छ। सम्बन्धित निकायसमेत यस विषयमा अनभिज्ञ रहेको कम्पनीको दाबी छ।
कम्पनीले खत्री लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको र राजनीतिलाई सेवाका रूपमा लिएको स्पष्ट पारेको छ। कांग्रेस गोरखाले पनि यस्तो प्रचारलाई भ्रमपूर्ण भन्दै आपत्ति जनाएको छ।
यसबीच गोरखाको चुनावी समीकरणमा नयाँ मोड आएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि प्रतिस्पर्धा थप रोचक बनेको छ। भट्टराईले यसअघि गोरखा–१ बाट उम्मेदवारी दिए पनि तोकिएको समयमै फिर्ता लिएका थिए।
गोरखा–१ मा कांग्रेसका खत्रीसँगै रास्वपाबाट सुदन गुरुङ, नेकपाबाट हरिराज अधिकारी र एमालेबाट रामचन्द्र लामिछानेसहितका उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन मिति नजिकिँदै जाँदा गोरखाको राजनीतिक माहोल थप तातिएको छ।
