महोत्तरी, फागुन १८ – महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेका बेला उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेकपा एमालेमा समाहित भएका छन्। उनले सोमबार एमाले प्रवेश गर्दै पार्टीका उम्मेदवार लक्ष्मी महतो कोइरीलाई खुला समर्थन घोषणा गरेका हुन्।
गुप्ता यसअघि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका थिए। एमालेका युवा नेता शंकर महतोका अनुसार गुप्तालाई एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलगायत नेताहरूले स्वागत गरेका थिए।
एमाले प्रवेशपछि गुप्ताले मुलुकमा देखिएको अस्थिर राजनीतिक अवस्थालाई अन्त्य गर्न बलियो र जिम्मेवार नेतृत्व आवश्यक रहेको धारणा राखे। उनले स्थिर सरकारमार्फत सुशासन र समृद्धिको आधार तयार गर्नुपर्नेमा जोड दिए।
साथै, उनले संविधानको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र सामाजिक न्यायको सुनिश्चितताका लागि आफूले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको बताए। महोत्तरीको समग्र विकास र जनजीवन सुधारलाई केन्द्रमा राखेर आफ्नो कदम अगाडि बढाएको उनको भनाइ छ।
