रवि लामिछानेको फेसबुक पेजमा ह्याकिङ प्रयास, मेटाले गर्‍यो लक


रवि लामिछानेको फेसबुक पेजमा ह्याकिङ प्रयास, मेटाले गर्‍यो लक
  • नवकिरण
  • फागुन १९, २०८२

काठमाडौँ, फागुन १९ – रवि लामिछानेको आधिकारिक फेसबुक पेज ह्याक गर्ने प्रयास भएको खुलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेको पेजमा अनधिकृत पहुँच बनाउन खोजिएपछि सामाजिक सञ्जाल कम्पनी मेटाले सुरक्षा कारण देखाउँदै पेज अस्थायी रूपमा लक गरेको हो।

रास्वपा सचिवालयले मंगलबार जारी गरेको सूचनामा बिहानैदेखि अज्ञात व्यक्तिहरूले पटक–पटक पेजमा प्रवेश गर्ने प्रयास गरेको उल्लेख छ। सुरक्षा जोखिम देखिएपछि मेटाले तत्काल नियन्त्रणात्मक कदम चाल्दै पेजमा पहुँच सीमित गरेको जनाइएको छ।

सचिवालयका अनुसार हाल प्राविधिक टोलीले फेसबुकको सुरक्षा प्रक्रिया पूरा गरी पेज पुनः सञ्चालनमा ल्याउने काम गरिरहेको छ। पेज पूर्ण रूपमा सुरक्षित भएको सुनिश्चित नभएसम्म कुनै पनि नयाँ सामग्री सार्वजनिक नगरिने स्पष्ट पारिएको छ।

यस्तै, पार्टीले समर्थक तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै पेजबाट कुनै शंकास्पद पोस्ट, सन्देश वा लिंक देखिएमा त्यसलाई आधिकारिक नमान्न अनुरोध गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको सचिवालयले जनाएको छ।