धनुषामा निर्वाचन सुरक्षा कडा, ८ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइयो


धनुषामा निर्वाचन सुरक्षा कडा, ८ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइयो
  • नवकिरण
  • फागुन १९, २०८२

जनकपुरधाम, फागुन १९ – २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनुषा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

जिल्लाभर शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यले चारवटै निर्वाचन क्षेत्रमा ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीलाई समन्वयात्मक रूपमा परिचालन गरिएको छ। संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी राखिएको छ।

जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा १६ फागुनदेखि नेपाली सेनालाई दिइएको छ। यसका साथै नेपाल–भारत सीमा क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाइएको छ। प्रजिअ लुइँटेलसहित सुरक्षा निकायका प्रमुखहरूले सीमावर्ती क्षेत्रको अनुगमन गरी आवश्यक निर्देशन दिएका छन्।

निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि भए तत्काल नियन्त्रणमा लिन ‘र्‍यापिड रेस्पोन्स’ योजना लागू गरिएको प्रशासनले जनाएको छ। जिल्लाको कुनै पनि स्थानमा अवाञ्छित गतिविधि देखिए सात मिनेटभित्र अतिरिक्त सुरक्षा फोर्स पुग्ने व्यवस्था मिलाइएको प्रजिअ लुइँटेलले जानकारी दिए।

प्रशासनले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गर्दै शान्ति सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।