काठमाडौं, फागुन २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन अभियानमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्। उनले जिल्ला निर्वाचन कार्यालय तनहुँमा आधिकारिक रूपमा उक्त विवरण बुझाएका हुन्।
निर्वाचन प्रतिनिधि पदमराज न्यौपाने मार्फत फागुन २७ गते बुझाइएको विवरणअनुसार वाग्लेले निर्वाचन अभियानमा कुल २६ लाख ९० हजार ७ सय ५४ रुपैयाँ खर्च गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोगको आचारसंहिता अनुसार खर्च विवरण पेश गरिएको जनाइएको छ।
खर्च विवरणअनुसार निर्वाचन अभियानका क्रममा प्रचारप्रसार सामग्री र सवारी साधनमा सबैभन्दा धेरै रकम खर्च भएको देखिएको छ। प्रचारप्रसारका लागि पोस्टर, पम्प्लेट तथा अन्य सामग्री छपाइमा मात्र ६ लाख ५० हजार २ सय ९८ रुपैयाँ खर्च गरिएको उल्लेख छ।
त्यस्तै सवारी साधन र इन्धनमा ४ लाख ५० हजार रुपैयाँ खर्च भएको छ भने विभिन्न ४२ वडामा सञ्चालन गरिएको कार्यालय व्यवस्थापनका लागि ४ लाख २० हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ।
यसैगरी खाना, खाजा तथा अस्थायी बसोबासका लागि ३ लाख ४८ हजार ९ सय रुपैयाँ खर्च गरिएको छ भने विद्युतीय माध्यमबाट गरिएको प्रचारप्रसारमा ३ लाख ४८ हजार ४ सय ६४ रुपैयाँ खर्च भएको देखिन्छ।
त्यस्तै ६९ मतदान केन्द्रमा बुथ प्रतिनिधि परिचालनका लागि ३ लाख १९ हजार ३ सय रुपैयाँ खर्च गरिएको छ। विविध शीर्षकमा १ लाख ४० हजार ७ सय ९२ रुपैयाँ खर्च भएको छ भने मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ र मतदाता नामावली खरिदका लागि ३ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
