रास्वपा सांसद प्रशिक्षण सुरु, रवि र बालेन कार्यक्रममा देखिएनन्


रास्वपा सांसद प्रशिक्षण सुरु, रवि र बालेन कार्यक्रममा देखिएनन्
  • नवकिरण
  • चैत्र ३, २०८२

काठमाडौं, चैत ३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरुलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा मंगलबार आयोजित कार्यक्रम उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर उद्घाटन गरेका हुन्।

कार्यक्रममा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुको उपस्थिति रहेको छ। यद्यपि, कार्यक्रम सुरु हुँदासम्म पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने देखिएका छैनन्।

अभिमुखीकरण कार्यक्रममा भावनात्मक क्षण पनि देखिएको छ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा कार्यक्रमस्थलमा पुगेकी थिइन्। उनलाई भेट्दा सुधन गुरुङले सान्त्वना दिएका थिए।

फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दै अग्रता बनाएको थियो भने समानुपातिकतर्फ ५७ सांसद थपिएका छन्।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रम बुधबारसम्म जारी रहनेछ, जहाँ पार्टीका नेताहरु तथा विषय विज्ञहरुले विभिन्न विषयमा प्रशिक्षण दिनेछन्।