काठमाडौं, चैत २९ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद फेरि चर्किएको छ। पार्टीका असन्तुष्ट नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वप्रति असन्तोष जनाउँदै वर्तमान कार्यसमिति भंग गर्न माग गरेका छन्।
महामन्त्री धवलशमशेर राणा पक्षधरको आइतबार कान्तिपथमा बसेको बैठकले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा अघि सारेको हो। त्यसका लागि निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ।
असन्तुष्ट समूहले पार्टीको निर्धारित कार्यकाल सकिइसकेको उल्लेख गर्दै अब थप समय लम्ब्याउनु उपयुक्त नभएको जनाएको छ। उनीहरूले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न नेतृत्वसँग माग गरेका छन्।
निर्वाचनमा प्राप्त कमजोर नतिजापछि पनि नेतृत्वले गम्भीर समीक्षा नगरेको भन्दै असन्तुष्टि बढेको छ। चुनावअघि गरिएका प्रतिबद्धता र वास्तविक परिणामबीच ठूलो अन्तर देखिएको उनीहरूको निष्कर्ष छ।
यसैबीच, उपसभामुख पदमा उम्मेदवारी दिने निर्णय पनि विवादको केन्द्र बनेको छ। उक्त विषयमा पार्टीभित्र छलफल नगरी निर्णय गरिएको भन्दै असन्तुष्ट पक्षले नेतृत्वमाथि विधि र प्रक्रियालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
