खड्काको गतिविधिमाथि कांग्रेस कडा, स्पष्टीकरण माग्ने तयारी


खड्काको गतिविधिमाथि कांग्रेस कडा, स्पष्टीकरण माग्ने तयारी
  • नवकिरण
  • बैशाख २, २०८३

काठमाडौं, वैशाख २ – नेपाली कांग्रेसले पार्टीको निर्णयविपरीत समानान्तर गतिविधि गरेको भन्दै निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने तयारी अघि बढाएको छ ।

कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेको विषयलाई गम्भीर रूपमा लिँदै कांग्रेसले खड्कासँग जवाफ माग्न लागेको हो ।

केन्द्रीय अनुशासन समितिको बुधबार बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा क्रियाशील सदस्यता खारेज गर्ने निर्णयप्रति असहमति जनाएका थिए । सो कदमपछि पार्टीभित्र विवाद चर्किएको छ ।

यसअघि अनुशासन समितिको १८ चैतको बैठकले कार्यवाहक सभापतिको नाममा वक्तव्य जारी गरिए कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

त्यसअघि १४ चैतमा खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै विज्ञप्ति निकालेका थिए भने १७ चैतमा केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएर दुई दिन छलफल गरेका थिए ।