४ मन्त्रालय खारेजीको तयारी, प्रधानमन्त्री कार्यालयलाई थप अधिकार दिइँदै


४ मन्त्रालय खारेजीको तयारी, प्रधानमन्त्री कार्यालयलाई थप अधिकार दिइँदै
  • नवकिरण
  • बैशाख २०, २०८३

काठमाडौं, वैशाख २० – सरकारले संघीय संरचनामा मन्त्रालय संख्या घटाउँदै केही मन्त्रालय खारेज र पुनर्संरचना गर्ने तयारी अघि बढाएको छ। स्रोतका अनुसार चार वटा मन्त्रालय खारेज गर्ने र केही मन्त्रालयको नाम तथा संरचना परिवर्तन गर्ने काम अन्तिम चरणमा पुगेको छ।

सरकारले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी गरेको हो। यससँगै अन्य मन्त्रालयहरूलाई गाभेर नयाँ संरचना बनाउने योजना अघि सारिएको छ।

तयारीअनुसार युवा तथा खेलकुद मन्त्रालयलाई शिक्षा मन्त्रालयसँग गाभेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाइनेछ। युवासम्बन्धी कार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसहित अन्य सामाजिक क्षेत्रसँग जोडेर ‘लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय’ गठन गर्ने योजना छ।

त्यस्तै, खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गतको सरसफाइ क्षेत्र स्वास्थ्य मन्त्रालयमा समायोजन गरिनेछ भने खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाउने तयारी गरिएको छ। यातायात क्षेत्रलाई श्रम मन्त्रालयअन्तर्गत लैजाने आन्तरिक छलफल पनि भइरहेको बताइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत राखिने तयारी छ। साथै भूमि व्यवस्था, सञ्चार तथा शिक्षा मन्त्रालयका केही विभागहरू पनि प्रधानमन्त्री कार्यालय मातहत ल्याउने योजना रहेको स्रोतको भनाइ छ।

सरकारले गठन गरेको कार्यदलले संघमा मन्त्रालय संख्या १७ मा सीमित गर्ने प्रस्ताव गरेपछि सोही आधारमा पुनर्संरचना प्रक्रिया अघि बढाइएको हो। सय दिने प्रशासनिक सुधार कार्यक्रमअनुसार मन्त्रालय संख्या घटाउने प्रतिबद्धता कार्यान्वयन गर्न सरकार सक्रिय भएको जनाएको छ।