धनगढी, वैशाख २६ – कैलालीको धनगढीमा आयोजित प्रदेशस्तरीय भेलामा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता तथा कार्यकर्ताले रुख चिन्हबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नहुने बताएका छन् । उनले कांग्रेसको आधिकारिक सदस्य भएर आफ्नै पार्टीको उम्मेदवारलाई असहयोग गर्नु स्वीकार्य नहुने स्पष्ट पारे ।
शनिबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’लाई सम्बोधन गर्दै थापाले पार्टीको जिम्मेवारी सम्हाल्ने, सांसद वा मन्त्री बन्ने र स्थानीय तहमा प्रतिनिधित्व गर्ने व्यक्तिले चुनावका बेला अन्य चिन्हमा मतदान गरेको स्वीकार गर्न नसकिने बताए । उम्मेदवार मन नपरेको बहानामा पार्टीभन्दा बाहिर गएर मतदान गर्नु कांग्रेसको सिद्धान्तविपरीत हुने उनको भनाइ थियो ।
उनले आफू सानैदेखि कांग्रेसका कार्यकर्ताले रुख चिन्हबाहेक अन्य कुनै चिन्हबारे सोच्न पनि नसक्ने संस्कारमा हुर्किएको उल्लेख गर्दै अहिले पनि त्यही मान्यता कायम रहेको बताए । कांग्रेसको आधिकारिक सदस्य भएपछि पार्टीप्रति इमानदार रहनुपर्ने उनको धारणा थियो ।
सभापति थापाले २१ फागुनमा भएको निर्वाचनका क्रममा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेताहरूमाथि कारबाही हुने संकेत पनि गरे । पार्टीको जिम्मेवारीमा बसेर आफ्नै उम्मेदवारविरुद्ध गतिविधि गर्नेहरूलाई केही समय जिम्मेवारीबाट अलग राखिने उनले बताए ।
उनले यस विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै पार्टीभित्र अनुशासन र संगठनलाई बलियो बनाउन आवश्यक कदम चालिने बताए ।
