प्रधानमन्त्री बालेन बैठकमा नआएपछि कांग्रेसको असन्तुष्टि, राज्य व्यवस्था समितिको बैठक बहिष्कार


प्रधानमन्त्री बालेन बैठकमा नआएपछि कांग्रेसको असन्तुष्टि, राज्य व्यवस्था समितिको बैठक बहिष्कार
  • नवकिरण
  • बैशाख २८, २०८३

काठमाडौं, वैशाख २८ – राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पुनः अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्रीले लगातार दोस्रोपटक बैठकमा सहभागिता नजनाएपछि कांग्रेसले विरोधस्वरूप आफूहरू बैठकमा नबस्ने निर्णय गरेको हो ।

सोमबार बिहानका लागि बोलाइएको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल तय गरिएको थियो । विशेषगरी सुकुमवासी बस्ती हटाउने कार्य, सुरक्षा प्रशासन र गृह मन्त्रालयको भूमिकाबारे प्रधानमन्त्रीसँग स्पष्टीकरण माग्ने कांग्रेसको तयारी थियो । तर प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसका सांसदहरू बैठकमै नगएको बताइएको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री स्वयं गृहमन्त्रीको जिम्मेवारीमा रहेकाले उहाँकै उपस्थितिमा मात्रै अर्थपूर्ण छलफल हुन सक्ने धारणा राखे । उनले प्रधानमन्त्री नआउँदा बैठकको औचित्य समाप्त हुने टिप्पणी गरे ।

बैठक बहिष्कार गर्ने क्रममा कांग्रेसका सचेतक निश्कल राई, सांसद अर्जुननरसिंह केसी र रेखाकुमारी यादव पनि सहभागी भएनन् । कांग्रेसले समितिका सभापति हरि ढकालमार्फत प्रधानमन्त्रीलाई पटक–पटक उपस्थित हुन आग्रह गरिएको जनाएको छ ।

प्रधानमन्त्री उपस्थित नभएसम्म कांग्रेसले समितिको बैठकमा सहभागिता नजनाउने संकेत दिएको छ । यसअघि पनि प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको काम प्रभावित बनेको थियो ।