काठमाडौं, वैशाख ३१ – प्रतिनिधिसभा सदस्य महावीर पुन ले सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गरेकोमा खुशी व्यक्त गरेका छन्। लामो समयदेखि उठाउँदै आएको आफ्नो माग पूरा भएको भन्दै उनले सरकारलाई धन्यवाद दिएका हुन्।
पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै केही दिनअघि संसद्मा उठाएको विषय र प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्ताव कार्यान्वयन भएको बताएका छन्। उनले अब मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञहरू एकजुट हुनुपर्ने बताएका छन्।
उनले नेपालमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता दोहोर्याउँदै नयाँ मन्त्रालयले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। साथै उनले सरकारको दीर्घायुको कामना गर्दै आवेगमा नेताहरूलाई दिएको आलोचनात्मक अभिव्यक्ति पनि फिर्ता लिएको उल्लेख गरेका छन्।
सरकारले हालै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय गठन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि पुनले आफ्नो लामो समयदेखिको अभियान सफल भएको बताएका हुन्।
