काठमाडौं, जेठ १ – हर्क साम्पाङ ले प्रधानमन्त्री वालेन्द्र शाह लाई नैतिकताको आधारमा पदबाट राजीनामा दिन आग्रह गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले प्रधानमन्त्रीले संसदीय अभ्यास र लोकतान्त्रिक मूल्यको सम्मान गर्न नसकेको आरोप लगाएका हुन्।
जारी विज्ञप्तिमा उनले प्रधानमन्त्री शाहले संसद् र जनताको सार्वभौम अधिकारमाथि अपमानजनक व्यवहार गरेको उल्लेख गरेका छन्। साम्पाङले प्रधानमन्त्रीविरुद्ध चार मुख्य विषय उठाउँदै उनको कार्यशैलीमाथि प्रश्न गरेका छन्।
उनका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिनु र पुनः उपस्थित नहुनु गम्भीर विषय भएको बताएका छन्। त्यस्तै, प्रतिपक्षी दलले संसद्मा उपस्थित हुन आग्रह गर्दा पनि प्रधानमन्त्री नआइ नजिकैको कार्यालयबाट प्रत्यक्ष प्रसारण हेरेर बसेको आरोप उनले लगाएका छन्।
साम्पाङले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री अनुपस्थित रहनु तथा उठेका प्रश्नको जवाफ दिन नआउनुले संसदीय परम्परामाथि बेवास्ता भएको बताएका छन्। साथै, प्रधानमन्त्री नियुक्त भएपछि हालसम्म संसद्को कुनै बैठकमा जनतालाई सम्बोधन नगरेको विषयलाई पनि उनले आलोचना गरेका छन्।
उनले संसद्को गरिमा कायम राख्न नसक्ने नेतृत्व असफल सावित हुने दाबी गर्दै यस्तो गतिविधिले संसदीय इतिहासमा नकारात्मक उदाहरण स्थापित गरेको टिप्पणी गरेका छन्। साथै संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति बढ्दै गएको भन्दै संसद्को शक्ति र औचित्य पुनः स्मरण गराउन आवश्यक रहेको साम्पाङको भनाइ छ।
