काठमाडौं, जेठ २ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान, संगठन विस्तार र जिम्मेवारीप्रति सक्रिय बन्न निर्देशन दिएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले जिम्मेवारी ठूलो हुँदै जाँदा काम प्रत्यक्ष रूपमा कम देखिए पनि दायित्व भने बढ्दै जाने बताए। प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्ला मात्र नभई समग्र प्रदेशका सबै जिल्लालाई समान रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।
साम्पाङले पार्टीभित्र नेता र कार्यकर्ताबीच विभाजनको सोच नराख्न आग्रह गर्दै सबै सदस्य संगठनका समान हिस्सेदार भएको उल्लेख गरे। फुटबल टोलीको उदाहरण दिँदै उनले अध्यक्ष मात्रै होइन, सदस्यहरूले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
उनले श्रम संस्कृति पार्टीलाई काममुखी पार्टीको रूपमा अघि बढाइरहेको उल्लेख गर्दै प्रत्येक सदस्यले श्रमदानमा सहभागी हुनुपर्ने धारणा राखे। बिरुवा रोप्ने, सरसफाइ गर्ने वा सामाजिक कार्य सुरु गर्ने जस्ता काम एक्लै भए पनि निरन्तर गर्नुपर्ने उनले बताए।
‘पहिले म एक्लै अभियानमा थिएँ, अहिले हजारौँ मानिस जोडिएका छन्। यो सफलता भन्दा पनि निरन्तर प्रयासको परिणाम हो,’ उनले भने।
पार्टी निर्माणकै चरणमा रहेको भन्दै उनले सक्रिय सदस्यलाई मात्रै महाधिवेशनमा उम्मेदवारी दिन र मतदान गर्न पाउने व्यवस्था गरिने जानकारी दिए। साथै, महिलाको न्यूनतम ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए।
साम्पाङले प्रदेश पदाधिकारीहरूलाई नियमित सम्पर्कमा रहन, बैठक सञ्चालन गर्न र संगठनलाई लोकतान्त्रिक ढंगले अघि बढाउन आग्रह गरेका छन्।
