मन्त्री अनुपस्थित भए पनि समितिको बैठक बस्ने बाटो खुल्दै


मन्त्री अनुपस्थित भए पनि समितिको बैठक बस्ने बाटो खुल्दै
  • नवकिरण
  • जेष्ठ ४, २०८३

काठमाडौं, जेठ ४ – प्रतिनिधिसभा नियमावलीमा परिवर्तन गर्दै मन्त्री अनुपस्थित भए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था प्रस्ताव गरिएको छ । समितिको काम समयमै अघि बढाउन यस्तो व्यवस्था ल्याउन लागिएको हो ।

प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रस्तावित नियमावलीको नियम १७८ अनुसार विधेयकमाथिको छलफलमा भने मन्त्रीको उपस्थिति अनिवार्य रहनेछ । तर अन्य विषयमा हुने छलफलका लागि आवश्यकताअनुसार मात्रै मन्त्री उपस्थित भए पुग्ने व्यवस्था राखिएको छ ।

यसअघि लागू प्रतिनिधिसभा नियमावली २०७९ मा समितिका सबै बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान थियो । सोही व्यवस्थालाई परिमार्जन गर्दै नयाँ नियमावली ल्याउन लागिएको हो ।

संसदीय समितिका बैठकहरू मन्त्रीको समय नमिल्दा पटक–पटक स्थगित हुने समस्या देखिँदै आएको थियो । नयाँ व्यवस्थाले त्यस्ता अवरोध कम हुने र समितिको काम नियमित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

रास्वपाका नेताहरूका अनुसार विधेयकसँग प्रत्यक्ष सम्बन्धित छलफलमा मात्रै मन्त्रीको उपस्थिति अनिवार्य बनाएर अन्य बैठकलाई सहज बनाउने उद्देश्य राखिएको हो । यसले समितिको कार्यसम्पादनलाई थप चुस्त बनाउने विश्वास गरिएको छ ।