संसद् बैठकमा विरोध प्रदर्शनको शैलीप्रति असन्तुष्टि जनाउँदै सभामुखद्वारा जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन


संसद् बैठकमा विरोध प्रदर्शनको शैलीप्रति असन्तुष्टि जनाउँदै सभामुखद्वारा जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन
  • नवकिरण
  • जेष्ठ ६, २०८३

काठमाडौँ, जेठ ६ – प्रतिनिधिसभा बैठकका क्रममा प्लेकार्ड प्रदर्शन गरेर विरोध जनाउने सांसदहरूलाई सभामुख डोलप्रसाद अर्यालले सचेत गराएका छन् । संसद्को गरिमा र नियम विपरीत गतिविधि दोहोरिए कारबाहीको दायरामा आउन सक्ने संकेत गर्दै उनले सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

बुधबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले सदनभित्र प्लेकार्ड देखाउँदै असन्तुष्टि व्यक्त गरेका थिए । त्यसलगत्तै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूको व्यवहार र गतिविधि मर्यादित हुनुपर्ने बताएका थिए ।

सभामुखले संसद् विचार, बहस र नीतिगत छलफल गर्ने थलो भएकाले विरोधका कार्यक्रम पनि संसदीय मूल्य र मान्यता अनुरूप हुनुपर्ने उल्लेख गरे । उनले नियम पालना गरेर आफ्ना विषय उठाउन सांसदहरूलाई आग्रह गरेका छन् ।

यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नियम कार्यान्वयनका विषयमा प्रश्न उठाउँदै सबै सांसदलाई समान रूपमा नियम लागू हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

सदनभित्रको पछिल्लो घटनाले संसद्को अनुशासन, मर्यादा र संसदीय अभ्यासलाई लिएर फेरि बहस सुरु भएको छ ।